भ्यु-टावर समारोह : हरायो रिबन काट्ने कैंची, कुरा काटेर गरियो उद्घाटन
प्रकाशित मिति: 8 December, 2024 3:10 pm
प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीलाई कहिलेकाहीँ बन्दुकको गोली भन्ने गरिन्छ । उनको जिब्रोलाई विभिन्न हात-हतियारसँग तुलना गर्दा उक्त जिब्रोमा धार भएको पनि भनिन्छ । आफ्नो गृहजिल्ला झापामा एकदमै सहज महसुस गरेकाले होला, ओलीको जिब्रोले आज एउटा कैँचीको रुप लिएको छ ।
५ वर्ष अगाडि आफैंले शिलान्यास गरेको भ्यु-टावरको उद्घाटनकालागि दमक पुगेका ओली, रिबन काट्ने बेला कैँची हराएपछि आफ्नो धारिलो जिब्रो प्रयोग गरेर कुरा काटेर उद्घाटन गरेको स्रोतले बतायो ।
उक्त समारोहमा ओलीले आफ्नो बाहेक सबैको कुरा काटेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार रिबन काट्ने बेला कैँची हराएपछि ओलीले आफ्नो जिब्रो निकाले, अनि कुरा काट्न थाले । एक साक्षीले भने – ‘प्रधानमन्त्रीज्यु बोल्न थाल्दा उनको जिब्रोले एउटा कैँचीको रुप लियो र स्वचालित शैलीमा कुरा काट्न थाल्यो।’
भित्री स्रोतका अनुसार त्यसो भइरहँदा भ्यु-टावरभरी त्रास फैलिन थाल्यो र सबैजना मौन भए। कसैले पनि केही नबोल्दा कुरा काट्न नमिलेपछि ओलीको जिब्रो कैँचीबाट पुनः जिब्रोमा परिणत भयो।
सो घटनाको विस्तृत विवरण आउन बाँकी नै छ । तर, कोशी प्रदेशभरी फैलिएको हल्ला अनुसार, ओलीको जिब्रो अझै पनि कैँची नै रहेको र कुनै पनि बेला फेरी पनि कुरा काट्न थाल्न सक्छ ।
आखिर ओलीले कस-कसको कुरा काटे, अनुसन्धान हुन बाँकी नै छ । यो घटना सामाजिक सञ्जालमा “कैँची काण्ड”ले चर्चित छ । एक टिकटकर भन्छन्- ‘आज कैँची हराएर जिब्रोले कुरा काट्नु भो । भोली कसैमाथि ठडिने औलोले बन्दुकको रुप लिने त हैन ?’
-गजुरियल डटकमकालागि किम्मदन्ती