गाउँ खाने कथा हैन, देश खाने कथा
प्रकाशित मिति: 12 March, 2020 9:31 am
-संप्रस पौडेल, हेटौंडा
प्रश्न:
शौचालयदेखि मन्दिरसम्म
पाउँछ यसले अनुमति,
शिरानीमै सुत्न पाउँछ
काम पनि कति कति ।
के हो ?
मजदूरदेखि सचिवसम्म
गोजी गोजीमा बस्दछ,
हुलदङ्गा भीड जहाँ होस्
सोध्दै नसोधी पस्दछ ।
ककुन चिज हो ?
कस्तो बेला बनाएछन्
यसलाई मार्टिन कुपरले,
सबै यसमै अटिगो
सुख पायो खप्परले ।
के हो ?
‘साइलेन्स’ लेखिएको ठाउँमा
पहिल्यै यो कराउँछ,
खुबै जतन गरेको चिज
छिनको छिनै हराउँछ ।
कुन चिज हो ?
फोटै खिच्न अघि सर्छ
जोसुकै हुन् भयभित ।
मन्दिरमा देउताका पनि
मुख चुच्चो भए कि त ?
केलाई भनिएको हो ?
आगो लाग्दैछ घरमा
फेसबुक लाइभमा रमाउँछ,
आँशु बेची युट्यूबमा
आफू पैसा कमाउँछ ।
उत्तर:
मोबाइल हो त्यो चिज
साथमै राख्छन् गर्छन् रीस
दिनरात सुख छैन
कहिले पिस कहिले किस ।
चिता दन्दनी बलिराछ
दाह्रा ङिच्याई सेल्फी लिन्छ,
जुगमै नभेट्ने मान्छे पनि
फेसबुक फ्रेण्डमा यसले चिन्छ ।
समय बर्बाद भैरहेछ
गरीब मुलुकमा पैसाको खति,
गिट्ठाको बीऊ रोपेर
केका फल्थ्यो र कागती ?
जसलाई दुई छाकै टार्न गाह्रो
उसकै छ ३० हजारको फोन,
कुपोषणले जो गलित छ
बोक्छ लाखौँको आइफोन ।
सकिन्न है रोक्न यसलाई
उँभो यो चढ्यो चढ्यो,
म्याराथनमै छ मोबाइल
झनै अघी बढ्यो बढ्यो ।