‘आगो र पानी तरुनी र मुर्ख, राजा र साहुदेखि नमान्नु हर्क’ अर्थात् …
प्रकाशित मिति: 30 January, 2020 9:18 am
-केशबराज
यो पुरानो भनाई सुन्दा महत्वपुर्ण शब्दहरु जोडेर बनेको एउटा सामान्य ठट्टा झैं लाग्दछ । तर, यो ठट्टा होईन, मान्छेको जिवनमा आईपर्ने लट्टाको पोको हो ।
आगो- यसले गरेको संकेत केवल टुकीमा बलेको सलेदोको होइन, अष्ट्रेलियाको जंगलमा सल्किएको डढेलोको हो । पानीको- यो कुरा केवल पिउँने पानीको धाराको होइन, समुद्रामा छछल्किएको सुनामीको पनि हो ।
तरुनी – यहाँ तरुनीको चर्चा एक वयस्क केटीको मात्र कुरा होइन, उत्ताउलो मनको कुरापनि हो ! प्राकृतिक भेलको कुरा हो, अन्धो प्रेमको झेलको पनि कुरा हो ।
सोच्दा सोच्दै कहाँ पस्छ, कहाँ बस्छ पत्तै हुँदैन । पत्ता पाउँदा पाउँदै सत्ता सिद्धि सकेको हुन्छ, अनिमात्र मनमा चसक्क छुन्छ !
मुर्ख- यो कोक्ल्यांटे स्वाभावले भरिएको मान्छे मात्र होइन, सुन्दै डर लाग्ने लठैत र मुङ्ग्रेलाई भनिन्छ । जसका हातमा परेको हतियारको दुरुपयोगले बर्बादी निम्त्याउन सक्छ !
राजा- यो रास्ट्रको सर्वोच्च पदको अपमान होइन । यो सत्ता शक्ति र सामर्थ्यले भरिएको उन्मादी पनि हो । उसले आफ्नो लागि आलिसान पाउँन र जोगाउन जुनसुकै हर्कत गर्न सक्दछ । यो पनि एउटा बादशाह प्रबृत्ति हो, जो अहंकार, दम्भ र खरखजनाले सुसज्जित हुछ । त्यसैले जे पनि गर्न सक्छ ।
साहु – उसले भैपरी आउँदा संकट टार्नेमात्र होइन, मौका छोपेर अभर पार्ने पनि गर्दछ । उ केवल धनधान्यले भरिपूर्ण सामाजिक मान्यजन मात्र होइन, पाएसम्म आफैंतिर तान्यजन पनि हो ! उ सम्पतीले सजिएको र अहंकार भरिएको सवार पनि हुनसक्छ ! शाहुले दियो भन्दैमा थपक्क नलिनु ऋणले थिच्न सक्छ, त्यति दिएकै बहानामा घरबारी पनि मिच्न सक्छ !
अर्थात, यी छवटै पदवीहरु मानिसमा हुने प्रवृत्तिका अत्ति रुप हुन् । त्यसैले यी ब्याक्ति नभै प्रबृत्ति हुन् । व्यक्ति भन्दा खतरनाक हुन्छ प्रबृत्ति । व्यक्तिले एक,एकलाई मात्र छुन्छ, प्रवृत्तिले संसार डुबाउँछ ! चाहिने भन्दा बढ्ता छेउ नपर्दा राम्रो, आशक्ति कहिल्यै नरहोस् हाम्रो ! सबैलाई चेतना होस् !