श्रमीक दिवसमा मालिक बेहोस,कान्छीलाई देखेर जेठीको सातो गयो…
प्रकाशित मिति: 8 March, 2019 5:54 am
गुरु प्रसाद
मालिक्नीले कामदार कान्छीको सातो खाईन् – “तँलाई मैले हिजै भन्या थिएँ, आज म ‘श्रमिक महिला अधिकार गाेष्ठी’मा जानुछ, कपडा धोई दे भनेर ! खै धोएकी ?” कान्छीले मसिनो स्वरमा भनिन् – ‘अरु काम गर्दा गर्दै मैले त्यो काम बिर्सिएछु मालिक्नी !’ मालिक्नी झम्टिईन् – ‘तँलाई डङ्किनी, सजिलै भन्छेस् बिर्सिएछु !?’ गाला छाम्दै कान्छी बोलिन्- ‘माफ पाउँ मालिक्नी, आइन्दा यस्तो हुन्न !’
तर मालिक्नी थामिनेवाली थिईनन्, ‘कान्छिको कपाल तान्दै जङ्गिईन् – ‘तेरा जगल्टा छर्छु म ! अाज कार्यक्रममा सबैजना कस्ता कस्ता बनेर आउँछन् !’ अर्को झापड भेटेपछि
कान्छीले बिकल्प दिईन् – ‘हजुर, अरु पनि त छन् नि कपडा, त्यही मध्ये एउटा लगाएर गईस्यो न ।’
मालिक्नी झन् तातिईन् -‘बड्ता सिकाउने हुन्छेस् !’ यति भनेर मुर्मुरिदै ड्रेसिङरुम तिर लागिन् । कान्छिपनी पिलपिल गर्दै घरबाट बाहिरिईन् ।
मालिक्नी तयारी भएर कार्यक्रमस्थलमा पुग्दा कार्यक्रम सुरु भईसकेको थियो । सन्चालिका बोलिन् -‘गाउँ महिला समुह’की अध्यक्ष श्रीमती मालिक्नीज्युलाई सभापतिको आशन ग्रहण गरिदिन अनुरोध गर्दछु ।’
मालिक्नी हतार हतार मञ्चमा उक्लिदै आसन ग्रहण गरिन् । त्यसपछी कार्यक्रम सन्चालिकाले बिशेष अतिथीको नाम बोलाईन् -‘श्रमिक अभियन्ता सुश्री कान्छिमाया !’
कान्छीमाया उनै कान्छी थिईन् जसलाई मालिक्निले अघि भरखर कुटेकी थिईन् । झुत्रे कपडा, यातनाकाे डाम बोकेकी कान्छी मञ्चमा चढ्दा सहभागीहरूमा हल्लिखल्ली मच्चियो ! सबैभन्दा खतरा त उनै मालिक्निलाई भयो ।
कान्छीलाई बिशिष्ठ अतिथिको रुपमा देखेर कार्यक्रमको अध्यक्षता गर्दै गरेकी श्रीमती मालिक्नीज्यु बेहोस हुनु भएछ । होश खुल्यो कि खुलेको छैन कुन्नी !!