कसले दियो यो कमब्याट ड्रेस ? गणतन्त्र दिवसमा पूर्वराजाको प्रश्न: ‘जनताले के-के पायो त मनोजबाबु ?’
प्रकाशित मिति: 29 May, 2018 4:44 am
आज गणतन्त्र दिवस । यो कुनै अमूक पार्टी वा नेताका साना दु:खले आज्र्याको गणतन्त्र होईन, लाखौ जनता र सयौं शहीदहरुको साझा प्रयास हो । एउटा महाराजा फालेर सयौं राजा जन्माउन गणतन्त्र ल्याएको हैन । यदि गणतन्त्रीक ब्यवस्थालाई नेतातान्त्रिक राजातन्त्र बनाइयो भने जनता फेरी उठ्नेछ । जनता कुनै निश्चित यातायात कम्पनीका सिण्डिकेट हैनन् जसलाई आफुले चाहेको रुटमात्र चलाउन सकियोस् । उनिहरु त स्वतन्त्र यात्रुहरु हुन्, जुन सवारीमा सुख, सुबिधा र समृद्धि छ, त्यसैमा चढ्छन् । र, गन्तब्यमा पुग्छन् ।
कमब्याक ड्रेसको कथा:
एउटा समय थियो, केही कलाकर्मीहरु राजपरिवारसँगको सम्पर्कलाई ‘इन्द्र भगवान’सँग डाइरेक्ट लिङ्क भएको ठान्दथे । दरबारमा कार्यक्रम गर्न पाउनेहरु ‘मंगलग्रहमा कन्सर्ट’ गरेको संझन्थे । थोरै कलाकारमात्रै नागरिक कलाकारिताको धर्म निर्वाह गर्दै थिए ।
महजोडीले पञ्चायती ब्यवस्था मार्फत् सामान्तबादलाई धक्का दिए । शाम्दे शेर्पाले भने सोझै ‘नारायणहिटी बेचेर खाँदा’ भन्दै प्यारोडी गाए । त्यसपछि ब्यङ्ग्यको वास्तविक धर्मोदय हुन एक दशकभन्दा बढि कुर्नु पऱ्यो ।
२०५८ सालमा राजा वीरेन्द्रको वंश नास भयो । त्यसको भोली पल्टै हाम्रो जुलुस कमलादीबाट नारा लगाउंदै त्रिचन्द्र दरबारमार्ग पुगेका थियो । पत्रकार श्याम श्रेष्ठ, गगन थापा सहित दरबारमार्गतिर लागेको जुलुसलाई पुलिसले रत्नपार्क तिर धपाएको थियो ।
त्यसको केही दिनपछि आन्दोलन शुरु भयो । रत्नपार्कमा प्रत्येक दिन जुलुस निस्कन्थे , तत्कालिन अखिल कार्यलयको प्रांगणलाई केन्द्र बनाएर । शुरुमा राजनैतिक पार्टीका केही कार्यकर्ता, केही नागरिक अभियन्तामात्र उपस्थित हुन्थे । बिस्तारै बद्रि पंगेनी, जीवन शर्मा, रामेश, रायन, बिष्णु बिभु घिमिरे, बैरागी काईंला, ब्याकुल ब्याकुल माईला लगायतको सहभागिताले जनताको भिंडपनि बढ्न थालेको हो ।
माघ १९ मा राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरिबक्स्यो । त्यसको लगत्तै बिश्वभर नेपालीहरुले प्रतिकार जुलुस निकाले । ती मध्य अमेरिकाको वासिङ्टन डिसीबाट तस्विरमा ज्ञानेन्द्र क्यारिकेचरको झिल्को निस्कियो । त्यहाँ एकजना नेपाली युवा कागजको श्रीपेच लगाएर तानाशाहीको बिरुद्धमा उत्रिएका थिए । शाम्दे शेर्पापछि मलाई राजाको क्यारिकेचर गर्न उत्साहित गर्ने यी युवाको तस्विर नै थियो ।
त्यसपछि सडक आन्दोलनमा उहाँको आवाजको नक्कल धेरै गरें । पहिलो स्थान थियो, अखिल कार्यालय अगाडी । हजारौंको संख्यामा उपस्थित आन्दोलकारीका अगाडी मैले त्यही भनें जुन अघिल्लो दिन राजाले रुकुमका जनतालाई भनेको थिए, ‘ठिक छ, मैले बुझें ।’ यसले राम्रै ताली खायो ।
त्यही सालको गाईजात्रा । गाईजात्रामा राजाको नक्कल गर्ने प्रश्ताव राखें । मित्र मन्त्रालयले अस्वीकार गऱ्यो, ‘परिवारको माया लाग्दैन ?’ किचन क्याबिनेटमा लगें, ‘अलि गाह्रो हुन्छ होला कि †’ मैले भनें, ‘गाह्रो भत्काएर अगाडी बढ्नुपर्छ ।’ यो कलाकारितामात्र नभएर राजनैतिक परिवर्तनकालागि सांस्कृतिक अभियान पनि भएको ठहर गर्दै सल्लाहकार समितिले हरियो संकेत दियो । अनि पूर्व राजाको नक्कल गर्ने निर्णयमा पुगें ।
ज्ञानेन्द्र त बन्ने तर सर–सामान कहाँबाट ल्याउने ? ह्याट, कम्ब्याट चाहियो । बजारमा पाईंदैन । अनि शुरु भयो नक्कली राजाका नक्कली पोशाक खोज्ने काम ।
घट्टेकुलो चोकमा घर भएका पुरान साहित्यकारको घरमा मेरो दाजु बस्नुहुन्थ्यो । उनका छोरा सेनामा ठुलै हाकिम थिए । उनकै पुरानो ह्याट हात लाग्यो । ह्याट लगाएर ओठ लेप्राउंदै यस्सो ऐनामा हेरें, ६० प्रतिशत मिलेझैं लाग्यो । स्वाश्थ्य मन्त्रालयका एक सुरक्षाकर्मी दाईसँग चिनजान थियो । उनले आफ्ना पुराना बुट उपहार दिए । कालोचस्मा खसीबजारका खरिद गरें । तर, कम्ब्याक्ट खोज्न राम्रै पापड बेल्नु पऱ्यो ।
सेनाको पोशाकसँग मिल्ने पोशाक बजारमा पाईदैनथ्यो । पाएपनि बेच्न डराउँथे ब्यापारीहरु । कम्ब्याट खोज्दै भृकुटी मण्डप बजारमा पुगें । त्यहींका एक ब्यापारी साथीले लुकाएर राखेको कम्ब्याक्ट ड्र्ेस उपलब्ध गराए । सबै गेटअप लगाएर यसो ऐनामा हेरें, डरले सबै ठाउँका रौं ठाडा भए । किनभने त्यहाँ म हैन, साँच्चीकै पूर्वराजा उभिएझैं लाग्यो ।
मलाई डर त पटक्कै लाग्दैन तर अज्ञात भयले भित्रभित्रै तर्साई रहेको थियो । राजा, बिष्णु अवतार, कसैले नगरेको काम । शहीद बन्न सक्ने संभावनापनि त्यतिकै थियो । राजावादीहरुको त्रास पनि कम थिए । स्टेजमैं गोली हाने भने ? सेनाले ब्यारेकमा लगेर करेन्टमा पिसाब फेरायो भने ? अनगीन्ति प्रश्नका पोका दिमागमा खेल्दै थिए ।
अर्को मनले जवाफ दियो, ‘अरे गज्जु भाइ, तिमीले बन्दुक बोकेका हैनौं, ब्यंग्य गरेका हौ । राजापनि त्यति मुर्ख छैनन् होला कि कलाकार र छापामार छुट्याउन नसकुन् ! फेरी देश गणतन्त्र उन्मुख भईसक्यो, तिमीलाई ह्याट उपलब्ध गराउने सेना, बुट उपलब्ध गराउने प्रहरी, कम्ब्याक्ट दिने ब्यापारी, चस्मा दिने पसले, हौसला दिने जनता सबै तिम्रो साथमा छन्, गो अहेड ।’ आफ्नै अन्तरमनले मलाई ‘हौसलाईजेन’ गऱ्यो ।
तर, धेरै सहकर्मी साथीहरु डराई रहेको देखिन्थ्यो । शैलेन्द्र सिंखडाले भने, ‘मनोजजीले आफुसँगै हामीलाईपनि स्टेजमै शहीद बनाउने हुनुभयो ।’ मैले जवाफ दिन्थें, ‘कर्म गर्दागर्दै मर्न पाउनु गौरवको कुरो हो नि भिनाजु ।’ गाईजात्रा भरी काल्पनिक त्रास र डरले धेरैलाई तर्साई रह्यो, तर न कसैले धम्की दियो, न आक्रमण । १५ दिने गाईजात्रा भब्यताका साथ सम्पन्न भयो । ज्ञानेन्द्र र प्रचण्डको प्रश्तुती निकै सफल भयो ।
त्यसपछि न्युयोर्कमा कार्यक्रम भयो । म्यानह्याटनको एउटा चर्चमा करिब १८०० जति दर्शक थिए । म दर्शक दिर्घाको पछाडीबाट आउने सिक्वेन्स थियो । त्यहाँ कस्तो हुन्छ भने, दर्शक दिर्घाको सबैभन्दा पछिल्तिर ‘बार’ राखिएको हुन्छ जहाँ बारम्बार पिउनेहरुको हुल हुन्छ । ह्याट लगाएको छु । कम्ब्याक्ट पोशाकमा सजिएको छु । दुईजना सेक्युरिटी छन् । सेक्युरिटीको सुरक्षाघेरामा राजा ज्ञानेन्द्र बनेर म मञ्चतिर हिडि रहेको छु । नेपाथ्यमा राष्ट्रि्य गीत बजिरहेको छ, रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो ।
‘सत्यरस’ पान गर्नेहरुको भिंडमा आईपुगेको छु । फोटो खिच्नेहरुको भिंड छ । मेरो सुरक्षाकर्मीहरुले सकेसम्म जोगाउँदैछन् । अकस्मात कसैले मलाई झ्याप्प अंगालो माऱ्यो । गाला छेउमा आफ्नो टाउको ल्यायो । मैले ठानें, ठूलो फ्यान रहेछ, म्वाई खान खोज्दैछ ।
के म्वाई खानु, महासयले आफ्नो मुख मेरो कानैमा पुऱ्याउनु भयो, र, भन्नु भयो, ‘मा….बढ्ता नाटक गर्छस् ?’ एडिसीले छुटाउँदा छुटाउंदै अर्को डाइलग मार्न भ्याई हाले, ‘बढ्ता हुने हैन नि मु….., यहीं उडाई दिउँला नि !’
सांच्चै भन्ने हो भने यो ‘नडराईकन भाग्ने’ अवस्थाको डाइलोग थियो । राजा ज्ञानेन्द्र सत्ताबाट पुरै बाहिर नगई सकेका, नेपालमैं पनि यस्ता ‘रोयल सम्मान’ नसुनेको हैन । ‘सर, सरकारको क्यारिकेचर चाहीं गर्नु नगर्नोस्’ भनेर शालिन धम्की थुप्रै आए । अमेरिकाजस्तो बिशिष्ट सुरक्षा ब्यवस्था भएको मूलुकमा मारी चाहिं हाल्दैनन् भन्ने लागेर म नडराईकन मञ्चतिर भागें ।
मञ्चमा हसाउँन गई रहेको छु तर कताकता मन ‘डरलाईज्ड’ भैरहको छ । मञ्चमा चढ्नुभन्दा पहिला मन शान्त हुनुपर्छ, नत्र संवाद भुल्न सकिन्छ । त्यसमाथी मञ्चमा उक्लिनु अघि यसरी ‘रोयल गाली’ खानु पर्दा कस्तो भयो होला, स्वयम् नक्कली राजालाईमात्र थाहा छ ।
मञ्च र मेरो दुरी लगभग दुई मिनेटको छ । एक मिनेट त गाली ग्रहणमै सकियो । बाँकी रहेको एक मिनेटमा दिमागमा के के कुरो चल्यो, त्यो सुनाउँछु ।
यो कुनै राजावादी रहेछ । यसले कि मलाई पछाडीबाट गोली हान्ला, कि त स्टेजमा पुगेपछि अगाडीबाट जुता प्रहार गर्ला । गोली हान्यो भने ‘शहीद’ हुन्छु, सक्किई गो, जुत्ता हान्यो भने मञ्चबाटै भन्छु, ‘प्यारा बिदेशबासीहरु, एउटामात्र हैन, अर्को पनि फाल्नोस् ।’ अर्कोपनि फाल्यो भने जुत्ता लगाएर धन्यवाद दिन्छु, फालेन भने मेरो जुता फुकालेर उतिर फाल्दिन्छु र, भन्छु, ‘लाउ, एउटामात्र लगाएर हिंड्नु हुन्न, पागल भन्छन् ।’
यता नक्कली राजाको दिमागमा यस्तो चल्दैथियो, उता सक्कली राजावादीका मुखबाट के के चल्दैथियो, त्यो भन्न सकिन्न ।
मञ्चमा पुग्दा सुरक्षाकर्मीले तिनलाई तह लगाई सकेका थिए । मेरो प्रश्तुती शुरु भयो । दर्शको तालीको गडगडाहट र मेरो संबोधनले एक मुठी राजाबादीको स्वर छायाँमा पऱ्यो । गोलीपनि चलेन, जुत्तापनि फलेन । मेरो ‘भर्जिन डाइलग’ फेल खायो, पुरानै डायलग हिट भयो, ‘मैंले मेरै छोरोलाई त संंझाउन सकेको छैन, तिम्रोलाई कसरी संझाउनु, पशुपतिनाथलाई भन ।’
प्रश्तुती सकिएपछि मैले आयोजक क्षितिज तमुलाई घटना सुनाऐं । अरु साथीहरुले सबै घटनालाई अघि नै पढि सकेछन् । भने, ‘ए, त्यो केटा ज्ञानेन्द्रको भान्जा पर्छ रे । दशैंमा दक्षिणा घट्ने भो भनेर चित्त दुखाएको रहेछ, अब ठिक भयो ।’
यो सबै कुरा सुनि सकेपछि मैलें भनें, ‘शासनसत्ता कमजोर हुँदा सबै सत्तातिसनहरुलाई रिस उठ्नु सामान्य कुरा हो । स्वभाविक हो, मामाघर कमजोर हुँदा भान्जाभान्जीलाई चित्त दुख्छ । ससुराली साम्राज्य समाप्त हुँदा ज्वाईचेलालाई पिंडा भैहाल्छ । त्यसैले उनिहरुको आवेग र रिसको मुस्लोलाई श्री पशुपतिनाथले कल्याण गरुन्, जय नेपाल ।’
फेरिपनि,
आज ११ औं गणतन्त्र दिवस । यो कुनै अमूक पार्टी वा नेताका साना दु:खले आज्र्याको गणतन्त्र होईन, लाखौ जनता र सयौं शहीदहरुको साझा प्रयास हो । एउटा महाराजा फालेर सयौं राजा जन्माउन गणतन्त्र ल्याएको हैन । यदि गणतन्त्रीक ब्यवस्थालाई नेतातान्त्रिक राजातन्त्र बनाइयो भने जनता फेरी उठ्नेछ । जनता कुनै निश्चित यातायात कम्पनीका सिण्डिकेट हैनन् जसलाई आफुले चाहेको रुटमात्र चलाउन सकियोस् । उनिहरु त स्वतन्त्र यात्रुहरु हुन्, जुन सवारीमा सुख, सुबिधा र समृद्धि छ, त्यसैमा चढ्छन् । र, गन्तब्यमा पुग्छन् ।
र अन्त्यमा,
कुनै बेला पूर्व राजासँग भेट हुंदा ‘मनोजबाबु, के दियो त तिम्रो गणतन्त्रले देशलाई ?’ भनेर सोधे भने जवाफ नभेटेर नि..लो हुन नपरोस्, गणतन्त्रवादी नेतृत्वलाई यही सुझाव सहित सबैलाई गणतन्त्र दिवसको शुभ कामना ।