‘ब्रम्हपुत्रको पानीलाई सोध, लद्धाखको हिंउलाई सोध- मैले पनि मेरी आमालाई तिमीले जतिकै माया गरेको छु ।’ एक भारतीय नेपालीको मर्मस्पर्सी कविता
प्रकाशित मिति: 11 April, 2018 4:01 am
ईतिहासले नभनोस्, ढुंगा र माटो भन्नेछन्,
राजनीति नबोलोस्, हावा र पानीले बोल्नेछन्,
आमाको छाती छोएर भन्न सक्छु,
मेरो छाती चिरेर भन्न सक्छु,
मैलेपनि मेरी आमालाई,
तिमीले जत्तिकै माया गरेको छु,
देशको कसम, माटोको कसम,
आमा पिरसँग उत्तिकै पौंठेजोर खेलेको छु ।
तिमीले लेखाएका ईतिहासमा मेरो नाम नभेटिएला,
ब्रम्मपुत्रको बगरमा भेटिनेछ,
तिमीले गाएका गीतहरुमा मेरो भावना नगाईएला,
अरुणाञ्चलको जंगलले गाउनेछ ।
काँसको बुटो पल्टाई हेर,
पहरा छहरालाई सोध,
लद्धाखको हिंउले भन्नेछ,
कच्छको रणंगनले भन्नेछ,
हिन्दुकुश र आरागानले बोल्नेछ,
रंगीत र टिष्टा ब्रम्हपुत्रले गुनगुनाउने छ ।
घामले धर्तीलाई गरेजत्तिकै,
जुनले अध्यारोलाई गरेजत्तिकै,
रगतको बलिदान चढाएर,
अकृतिम माया गरेको छु,
मैलेपनि मेरी आमालाई,
तिमीले जत्तिकै माया गरेको छु ।
त्यसैले त मैले भनेको साथी,
आमालाई मैले आमा भन्न पाउनुपर्छ,
मैलेपनि मेरी आमालाई,
तिमीले जत्तिकै माया गरेको छु ।