ओच्छ्यान मुनी अचम्मको वस्तु भेटिएको सन्दर्भमा…..
प्रकाशित मिति: 21 March, 2018 3:56 am
खाट यताउता सार्ने क्रममा केटाकेटीले अचम्मको कागज भेटेछन् । लगभग हत्केला भरीको त्यो चिप्लो कागज के हो, कसैले चिनेनन् । कसैले पुस्तकको कभर माने । कसैले कार्यक्रमको टिकट ठाने । कसैले सिनेमाको पोष्टर होला भन्ने अड्कल काटे तर यकिन गर्न कसैले सकेनन् ।
मेरो अध्यक्षतामा १ सदस्यीय छानबिन समिति बनेछ । त्यसपछि त्यो कागज मेरो हातमा थमाई दिए । मलाई पत्ता लगाउन समय लागेन । त्यो वस्तु पुरानो क्यासेट एल्बमको कभर थियो । ०४८ सालदेखि ०५८ सालसम्म म नियमित गाईजात्रे क्यासेट निकाल्थें । तिनै मध्ये २०५४ सालको प्रश्तुती पप कविताको कभर ओच्छ्यान मुनी रहेछ ।
क्यासेट, ट्याप्लिकेट (टेप रेकर्डर) युग सकिएर फ्लपी, सिडी, आइपोड, पेन ड्रईभ, मेमोरी कार्डमा पुगिसक्यो तरपनि मलाई क्यासेट युगकै मायाले छोड्न सकेन किनभने त्यो मेरो संघर्षको युग थियो । सिकाईको समय थियो । सिंढी चढ्ने प्रयास थियो । त्यसमा मेरो कलायात्राको आधा इतिहास थियो । त्यसको महत्व यी फेसबुक, इन्स्टाग्राम (इन्स्टा) अनि युट्युबमा पुगेको पुस्तालाई के थाहा, क्यासेटले कति महत्व राख्थ्यो त्यसबेला ।
महजोडीका क्यासेटले पञ्चायत फाल्यो । शाम्दे शेर्पाको क्यासेटले राजतन्त्रको जग हल्लायो । शम्भु दहालका क्यासेटले विकृत राजनीतिको सातो लियो । उहाँहरुबाट सिक्दै हामीले पनि क्यासटे क्रान्ती गऱ्यौं । त्यो इतिहासको गजुरीयल सम्मान स्वरुप यो क्यासेट कभरलाई यहाँ पोष्ट्याएको छु ।
सम्झनोस् त, एसिड बेट्रीबाट क्यासेट बजाएको । एभरेडी बेट्री क्यासेटभित्रै कुहिएपछि घामलाई पावर वैंक बनाएर पुन क्यासेट घन्काएको । रील च्यापिएर चुंडिएपछि टेपले टालेर बजाएको । रील फाष्ट हुंदाको आवाज, रील चेपिंदाको आवाज अनि मइन्टोल बालेर बेट्रीबाट चल्ने क्यासेट घन्काउँदै रोदी, देउसी, भैली खेलेको ! अहा….ती दिन !!