अरू होनहार ‘नवराजहरु’ बँचाउन कसले के गर्ने !
प्रकाशित मिति: 31 May, 2020 12:01 pm
-केशबराज गजुरेल
हालै रुकुममा भएको घटना जघन्य अपराधमा परिणत भएको छ । दुइजना बीचको प्रेमलाई सफल बनाउन खोज्दा ६ जना होनाहार युवाको ज्यान गएको छ। यहाँ प्रेमी भनिएका युवाले आफ्नो ज्यान गुमाए । प्रेमीकाको इज्जत र आत्म सम्मानमा चोट पुग्यो ! ६ जना अविभावकहरुले सन्तान गुमाए । अर्को कुरा, परिवार जीवनभर आलोच्य हुनुपर्यो ।अर्थात्, घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको छ।
यहाँ ख्यालख्यालमै ६ ज्यान गयो ! बेहुलो बन्छु भन्ने लास बने। जन्ती मलामीमा परिणत भए ! न उनले बेहुली लान पाए, न प्रेम सफल भयो। कसैको इहलिला अन्त्य भयो। कसैको जीवन पस्ताचापले जल्यो । यो असहिष्णुता र अहंकारको उपज पनि हो । यसमा जातीय वा सामाजिक विभेद समेत जोडिएको छ । यो २१औ शताब्दीमा प्रेम प्राप्तीका अनेकौं उपाय हुन सक्थे होलान्, तर यहाँ जोशमा होस गुमेको छ । यसलाई असफल पार्ने अन्य उपायले हुनसक्थे, तर बिभत्स हत्या भएको छ ।
आशा गरौं – पिंडकले सजाय पाउनेछन् । पीडितलाई न्याय मिल्नेछ । आउँदा दिनमा यस्ता जघन्य घटना हुन नदिन समाजले के पाठ सिक्ने ? यस बिषयमा कुरा गरौँ ।
प्रेममा आवेगको उपयोग मात्र होइन, विवेकको प्रयोग गर्नुपर्छ । अविभावकको सल्लाह पनि मान्नुपर्छ । एक्लै जन्मिए पनी बाँच्दा सामुहिक बन्न जान्नु पर्छ । प्रेमलाई दुइ मनको मिलनमात्र होइन, सामाजिक सम्मिलन बुझ्नुपर्छ । यसलाई गृहस्थी जीवन प्रवेशको पुर्व तयारी मान्नु पर्छ । म सिंगो समाजको अभिन्न अंग बन्दैछु भन्ने बुझ्नु पर्छ ।
युवाहरुको दायीत्व
अधिक लोभ, मोह र अहंकारले मान्छेलाई गलत बाटोमा लैजान्छ । क्रोध र बदला भावको बाटो रोज्नु हुँदैन । अहंकार बोकेर समाधान खोज्ने हुँदैन । सम्बन्ध जोड्ने र तोड्ने कुरा सामाजिक बिषय हो । यस्तो कुरामा हठ छोड्नु पर्छ। सिंगो समाजमा सन्तुलित सम्बन्ध जोड्नुपर्छ ! यति गरे राम्रो हुन्छ, न मर्नुपर्छ न जीवन जान्छ !
अविभावकको दायीत्व
बोटमा राम्रो फल फलोस् भन्ने हो भने समयमै गोडमेल गर्नुपर्छ । आफ्ना सन्ततिलाई बेलैदेखि पारिवारिक दायीत्व, कर्तब्य र सामाजिक जिम्मेवारी बोध गराउनु पर्छ । बालबालिका रबर बराबर हुन्, जता पनि तनकिञ्छन् । यसर्थ सानैदेखी संस्कार सिकाउनु पर्छ । आजका सन्ततिहरु तीक्ष्ण हुन्छन्। उनका पनि कुरा सुन्नु जरुरी छ । उपयुक्त कुरालाई गुन्नु पर्छ ।गल्तीमा गाली गरेर मात्र सुधार आउँछ भन्ने बुझ्नु हुँदैन । जटिलतामा मायाको प्रयोग गर्नुपर्छ ।
समाजको दायीत्व
अरुलाई दुख्दा आफुलाई पनि दुख्छ, भन्ने बुझ्नुपर्छ । देखासेखीमा होइन, आफ्नो कर्ममा रमाउनु जान्नु पर्छ । अरुका दुखमा खुचिङ्गबाजी छोड्नुपर्छ, समवेदना जोड्नुपर्छ । कलहको आगोमा घिउ हैन, पानी हाल्नुपर्छ । ‘आफ्नो आँङको भैंसी नदेख्ने अरुको आँङ्को जुम्रा’ भनेझैं अरुका कमजोरीमा खिसिट्युरी होइन, प्रेमले सम्झाउनु पर्छ । सिंगो समाजमा बहार ल्याउनु पर्छ । सत्कर्म र परधर्म्लाई भुल्नु हुँदैन। सिंगो समाजलाई एक बनाउन सकिन्छ। त्यहिंभित्र रमाउन सकिन्छ ! जातीय दम्भ र हिनताबोध दुवै त्याग्नु पर्छ ।
आशा गरौँ- रुकुमका नवराज र उनका साथीहरुको हत्या नै अन्तिम होस् । कुनैपनि नेपालीको मृत्यु जात, धर्म, वर्गका नाममा उप्रान्त कहिल्यै नहोस् । सबैलाई हार्दिक श्रद्दान्जली !