आठ करोडको आरोप लागेका चन्द्रदेव जोशीलाई अख्तियारको हुस्सु पुरस्कार !
प्रकाशित मिति: 12 February, 2020 10:23 am
-केशवराजा
हिजोआज ललिता निवास काण्डले निकै चर्चा पाएको छ । यसै मेसोमा सरकारी पक्षको दाबी छ – ‘पहिलो पटक ठुला माछा समातिए ।’ बिपरित बिचार राख्नेहरुको तर्क छ – ‘केवल भुरा माछा जालमा पारेको हो ठुला माछा मारेको होइन !’
उता प्रतिपक्षको कुरा सुन्दा लाग्छ- सरकारले संरक्षण गर्नुपर्ने कछुवालाई माछा भनेर पछार्न खोज्दैछ ! कछुवा संरक्षित स्थान उर्फ बुढानिलकण्ठलाई नै लछार्न खोज्दैछ !
सडकको चिच्याहट सुन्दा लाग्छ, कुनाकानी लुकेर बसेका कछुवाको पनि बिचल्ली होला कि भन्ने डर छ ! समातेको एउटामात्र कछुवा भगाउँने रहर छ !
यी त भए बालुवाटार जग्गा प्रकरणका पक्ष र विपक्षका कुरा, अब गरौँ एउटा ‘मध्यक्ष’ कुरा अर्थात् यताउताका कुरा ।
उमेर अस्सी तिरका, कपाल फुलेका, तालु खुलेका, छाला सुक्दै गएका, नाक फुक्दै गएका एक निरिह भुरा माछाको कुरा ।
न उनमा सत्ता प्राप्तीको सम्भावना थियो, न चुनाव उठ्नेको चाहना थियो । न मंत्री हुने रहरले जनतामा सपना साटेका थिए, न चुनावमा उठेर खोक्रा भाषण नै छाँटेका थिए । उनले मंत्री हुने डंका पिटेर चन्दा पनि उठाएका थिएनन् ।
झण्डा डण्डा बोकेर गुण्डा पनि जुटाएका थिएनन् । चुनावको ऋण तिर्न आफ्नालाई ठेक्का पार्नु पनि थिएन, धेरै कुम्ल्याउन कमिशन झार्नु पनि थिएन !
गाैंडो ढुकेर बस्नेले नै हात्तीलाई धाप लगाउँन पाउँछ भनेझैं ख्याल ख्यालमै उनको पार्टीलाई पनि अवसर आयो, नेकपा संयुक्तले मंत्री पायो ! सानो पार्टी, थोरै नेता । अगुवा ठानेर यिनैलाई दिए होला !
दशकौं सम्मको राजनीतिक लगानीको ब्याज ठाने होलान्, मन्त्रीमा जान माने होलान् !
आज मिडियामा उनि गिडगिडाउंदै न्यायको भिख माग्दै भन्दैछन् – ‘आठ करोड भनेको कस्तो हुन्छ, जान्न पाको छैन, आठ लाख पनि गन्न पाको छैन ! चार महिने मंत्री बर्षौं झैं रह्यो, त्यहि पद मलाई अभिसाप भयो ! कसले मलाई न्याय गर्ने हो, अन्यथा म जेल मै मर्ने हो !
यिनको कुरा सत्य हो भने, हामीले पनि पत्याउनु पर्छ । उनका कुरा मान्ने हो भने यिनलाई हुस्सु मंत्री भन्नु पर्छ ! हुस्सु मन्त्रीलाई हुस्याउने चतुर ब्युरोक्रेसीलाई कानूनमा कस्तो दण्ड ब्यवस्था छ कुन्नी !
(फोटो साभार : सामाजिक संजाल )