शुभकामना – ‘भन्नु’ र ‘दिनु’ फरक हो ।
प्रकाशित मिति: 6 October, 2019 10:22 am
शुभ कामना ‘भनेर’मात्र हुन्न ‘दिनु’पर्छ । भन्नु औपचारिकता हो, ‘दिनु’ त्याग गर्नु हो । जिम्मेवारी बोध गर्नु हो। परेको बेला सहयोग पुर्याउनु हो । समर्पणभाव प्रकट गर्नु हो । शुभ कामना भन्नलाई मात्र ‘भन्दिए’ पुग्छ, ‘दिन’लाई छाती निकै चौडा हुनुपर्छ, अरुको दु:खलाई ब्यवहारले छुनुपर्छ । तर, यस्ता ठुलो छाती रहेका, सेवाभावले मनमा औडाहा भएका मान्छे पाउनै गाह्रो छ, कतै भेटिए जोगाउनै साह्रो छ । दशैं आयो शुभकामना । तिहार आयो शुभकामना । नयाँबर्ष लगायत अनेकौं चाडपर्वमा शुभकामना दिनेको फेसबुके बाढी आउँछ तर संझेर, खोजेर, भेटेरै शुभकामना दिनेहरु खोज्दा पसिना आउँछ । कसलाई दिनै पर्ने हो, रोजेरै दिनु पर्छ, उनि कहाँ छन् , खोजेरै दिनु पर्छ । पाउने र दिनेको सम्वन्ध सधैं गाढा हुनुपर्छ, राघ, द्वैशबाट टाढा हुनुपर्छ ! फेसबुकमा शुभकामना टक्रयाउन सजिलो छ, ब्यवहारमा सम्वन्ध अड्याउन गाह्रो छ । जे गर्ने हो सधैं सक्ने गर्नुपर्छ, व्यवहारले सबैको मनमा खुशी भर्नुपर्छ ! ‘दिनु’ यानिकी सल्लाह दिनु, अर्ती उपदेश दिनु, यो सजिलो छ । ‘दिन’ प्राय सबै अघि सर्छन्, उपदेश दिन सुरु गर्छन् । तर, भोग्नेका अगाडी बोल्नेका कुरा औपचारिकमात्र लाग्न सक्दछन् । किन ?किनकी उसलाई अलिकति कपडा लत्ता चाहिएको हुन सक्छ । ओखतीको एउटा पत्ता चाहिएको हुन सक्छ । यो कुरा बुझ्नासाथ उपदेशीहरु अलि पर सर्छन् । बिस्तारै बिस्तारै बोलीबन्द गर्छन् ।
त्यसैले, दिनु पनि पर्छ, लिनु पनि पर्छ, । आदान-प्रदान हुनुपर्छ । शुभकामना होस् या सेवा सहयोग, यो निस्वार्थ बन्नुपर्छ । बोलीमा मात्र नहोस्, देखियोस् सधैं काममा, दशैंकाे सबैलाई यहि छ शुभ कामना !
|
|