किन रोए यी वडा अध्यक्षहरु ?
प्रकाशित मिति: 26 March, 2019 5:20 am
अख्तियार दुरुपयोग निवारण आयोगको तथ्याङ्कले देखाएनुसार स्थानीय तहमा ब्यापक ‘हसुराचार’ बढ्दो छ । तर, यो कुरा स्थानीय तहका वडाध्यक्षहरु ‘म:म:’ भन्न तयार छैनन् ।
सप्तरीको राजबिराजमा भेला भएका जिल्लाका वडा अध्यक्षहरु भन्छन् -‘ घुस खाने कर्मचारीहरु, गाली खानु पर्ने हामी ?!’ उनिहरुको कुरा सुन्दा लाग्छ- धान मुसाले खाई रहेको छ तर चोट भ्यागुत्ताले पाई रहेको छ । यो बिषयमा आम मानिसको बिचार के होला ? सोधनी, खोजनी र बुझनी गर्दा फेला परेका केही अचारहरु निम्न छन् । – कर्मचारीमा ‘जागिरे हुनु भनेको कमाउनु हो’ भन्ने मानसिकता छ । र, कु-सँस्कार बनेको छ । यो सोचको समाप्ती नहुन्जेल यस्तो रोग रहिरन्छ । नयाँलाई सरिरहन्छ । -ठोस प्रमाण बिना नै ‘सबै कर्मचारी चोर हुन्, भ्रष्ट हुन्छन् भनिदिने नागरिक रोग पनि छ । सबैलाई एउटै ओखलमा हालेर मुसल हान्ने चलन छ । यसले भ्रष्टाचारमा कमी होइन, उल्टै बाँदरलाई लिस्नोभएको देखिन्छ । -जनप्रतिनिधी भनेका नेता हुन् । नेताहरु प्रतिको आम दृष्टिकोण सङ्लो छैन । ‘मिलेर खान्छन्, मिलाएर खान्छन् । आफन्तालाई बोक्छन् । अरुलाई ठोक्छन् । चुनावमा झुक्छन् । जितेपछि भुक्छन्’ भनिंदो रहेछ । (फोटो साभार:सामाजिक सन्जाल-अनलाइन खबर)
कर्मचारीका बारेका उपरोक्त कुरा रियल कृया हुन् । यश बिषयको गजुरियल प्रतिकृया यस्तो छ : मुख नभएका कोही छैनन् । सबैले पानीले नै नुहाउने हुन् । दुधले नुहाएका कमै होलान्। एकथरी मान्छे ‘नखाउँ कि’ भन्दै खान्छन् । भोक टार्न खान्छन् । मिलाएर खान्छन् । लत्तामा र भत्तामा खान्छन् । घुमाएर खान्छन् । पेट्रोलमा खान्छन् । भाडा खान्छन् । खरिद गरेर खान्छन् ।
अर्काथरि पनि छन् जाे उनिहरु कमाउन खान्छन् । जमाउन खान्छन् । रमाउन खान्छन् । अख्तियारले भेटे समाउने गरि नै खान्छन् । ट्याङकरै खान्छन् । गाडी नै खान्छन् । बोइङ नै खान्छन् । सके एक्लै खान्छन, नसके बाँडेर खान्छन । टुक्रा टुक्रा पारेर भएपनि खान्छन् । अथवा निमिट्यान्न पारेरै खान्छन् । निश्कर्ष : बाँकी कोहि छैनन् त ? अवश्य छन् । नखाएकाहरु पनि छन् । नपाएकाहरु पनि छन् । तर, यिनिहरु पनि मकै खान गएका घुन भएका छन् । कुख्रा झोक्राउने नुन् भएका छन् । उत्तरार्धका जुन भएका छन् । छन् चाँही छन्, कहाँ छन त ? सयद भ्रष्टाचारको कुहिरोमै हराएका छन् कि !
|
|