सार्वजानिक यातायातमा चढ्ने यात्रुले पढ्नै पर्ने कुरा…
प्रकाशित मिति: 28 February, 2019 2:43 am
यो कुरा सार्वजनिक यातायात क्षेत्रको हो । खुट्टै टेक्न नमिल्नेगरि खचाखच यात्रु बसमा हुल्ने, एकले अर्कालाई पेल्ने, पिंना बनाई तेल निकाल्ने, तेलको साटो पैसा असुल्ने !
यतिमात्र होइन, एकले अर्काका खुट्टा टेक्ने, खुस्रुक्क मोबाईल झिक्ने, जेब काट्ने, ब्याग साट्ने, खलाँसीले ठेल्ने,भित्र भित्रै पेल्ने ! आउनोस्, आज यसैको गजुरीयल विश्लेषण गरौं ।
काठमाण्डौको कोटेश्वरबाट सुरु भएर अनमनगर, बालुवाटारहुँदै रिङरोडको गोपिकृष्ण सिनेमा नजिक सम्म पुग्ने नेपाल यातायातको ब्यथा हो यो ।
यो रुटमा नेपाल यातायात निकै लोकप्रीय छ । कोटेश्वरको रिङरोडबाट शुरु भएर भित्री शहरका बिभिन्न भाग छिचोल्दै रिङरोडमै टुङ्गिने छिटो छरितो यात्रा मानिन्छ । तर, सबै राम्रा हाम्रा हुँदैनन् ।
ऐले यस रुटका पहिले जस्तो आनन्द छैन । यात्रुले अलि खल्लो महसुस गर्दा रहेछन् । कारण, अस्वस्थ प्रतिस्पर्धा र रफ ड्राइभिङ ! प्रतिस्पर्धा कुनै अरुसँग पनि होइन, त्यहि कम्पनीका दाई भाईसँग !
अगाडी नेपाल यातायात, पछाडी पनि नेपाल यातायात नै दौडिरहेको हुन्छ । काठमाण्डौका साँघुरा सडक, दाँया बाँया साना ठुला सवारीको आवत जावत छ। गुरुजीको गेटअप अलि आधुनिक देखिन्छ । फुर्ती पनि निकै तर हतार र हठात् पनि छ !
त्यो भिँडमा उनले गाडी चलाउँदा लाग्छ उनी गाडी होइन , साइकल दौडाइ रहेकाछन् । दायाँ, बायाँ र मध्य सर्वत्र बदल्न आफुलाई सिपालु ठान्दछन् ।
खलाँसीलाई भनिरहेका हुन्छन् – ‘अाेए ढोका खोल, ढोका खोल , बोला ए बोला, मान्छे बोला । बन्द गर बन्द गर । चढा न चढा ।’ उनको यो आपत् देख्दा अन्योल हुन्छ-उनी गाडी चलाउने ड्राइभर हुन कि पैसा उठाउने कण्डक्टर ?
ठाउँमा पनि रोक्न खोज्थे, कुठाउँमा पनि गति सिमित गराउने र मान्छे चढाउने गर्दथे । तर, गाडी बिसाउँदै नबिसाई यात्रु चढाउने गर्नाले कसैको कुइनो ठोकिने, कसैको घुँडा त कसैको टाउको ठोकिंदै चढ्दै गए । उनले प्रत्येक यात्रुलाई यसरी उठाउँथे कि पन्ध्र रुपया तिर्ने यात्राु होइन, एक हजारका नोट टिपीरहेका थिए ।
चढ्ने प्रत्येक यात्रु गुनासो गर्छन् – कस्तो चढ्नै नपाई हिंडाएको ! कति रफ चलाएको होला ! कति स्पिड चलाएको कुदाएको ! ऐया, टाउकै ठोकियो ! दुख्यो, खुट्टा किल्चियो ! मरेँ, मेरो च्यापियो ! आदी ईत्यादि ।
एकजना यात्रु भन्छन् – ‘ए भाई गाडीको गति अलिकति कम गरे हुन्न ?’ गुरुको जवाफ आउँछ- ‘तपाईँलाई के भयो, अलि पछाडी जानुस् र बस्नुस् ।’
यही बिषयमा काठमाण्डौका मेयरले अन्तरवार्ता भनेका थिए- ‘सडकको भिंड कम गर्न ‘पिक एण्ड ड्रप’ नीति ल्याईँदैछ जसले सडकको भिंड कम गर्छ ।’ तर, मेयर सा’ब नीति नबनाउँदै यात्रु र पथयात्रुको सातै जानेगरि चलाईन्छ भने त्यसपछि झन के होला !
सडक, व्यवसायी र चालकको प्रबृतिमा सुधार, नियमनकारी निकायको प्रभवकारी अनुगमन, उचित दण्ड र पुरस्कारको व्यवस्था नगर्ने हो भने यातायात क्षेत्रको अराजकताबाट यात्रुहरुलाई उचित सुविधा सहितको सेवा दिन नसकिने गजुरियल ठम्याई छ ।
केही राम्रापनी छन् । तर, सबै हाम्रा राम्रा हुँदैनन् भनेझैं कुनैपनि बस्तु, स्थान, र सँस्थालाई सुन्दर, सफा र संमृद्ध बनाउन सम्बन्धित सबैको मेहनत र ईमान्दारीताको खाँचो पर्दछ । बिगार्नु पर्यो भने केवल एउटा धुन्दुकारी भए काफी हुन्छ