‘१०० कडा १०’ का लेखक/निर्देशकको भित्री कुरा, भन्छन्- ‘जे बिक्छ त्यहीमात्र नबेच्ने रे !
प्रकाशित मिति: 7 January, 2019 2:58 am
म एक चलचित्रकर्मी । करियर सुरु गरेका ति दिनहरु आज पनि म सम्झिने गर्छु, जसले हरेक क्षण मलाई सिक्न प्रेरित गर्छन् । यी दिनमा म काल्पनिक संसारमा नायकलाई हावामा उडाउने कुरा साेच्थें। ‘जे बिक्छ त्यही बेच्नु पर्छ’ भन्दै सिने बजारमा म होमिएको थिएँ । बिस्तारै मनमा प्रश्न उठ्न थाल्यो -‘के जे बिक्छ भन्दैमा जे पनि बेच्न मिल्छ ? हुन्छ ?’
मलाई यस्तो लाग्न थाल्यो- ‘भाषा नेपाली हुँदैमा वा नेपालमा बोलिने भाषामा बनाउँदैमा त्यो नेपाली सिनेमा हुँदैन । हुन्छ भने, दु:ख गरेर अनि पैसा खर्च गरेर किन सिनेमा बनाउनु ? हलिउड, बलिउड, कोरियन सिनेमा नेपाली भाषामा डब गरेर देखाए भै गयो नि !
साँच्चै हामीले बिशुद्ध नेपाली सिनेमा बनाउने हो भने कथा, ब्यथा, चरित्र, सुख, दु:ख हाम्रै हुनुपर्दछ । अनि मात्र त्यो नेपाली सिनेमा हुन्छ – म यहि कुरामा म कन्भिन्स भएँ र यही बाटोमा काम गर्ने निर्णय गरेँ ।
त्यो बेला चलचित्र लेखकको रुपमा काम गरिरहेको मैले यस्ता कुराहरु सुनाउँदा केही निर्माता-निर्देशक मबाट टाढिनुभयो । त्यो बेला म ब्यस्त लेखक तर १ वर्ष जति मैले कुनै काम पाई्ंन । तरपनि, मैले आफ्ना कुराहरु भनिरहेँ ।
यसैक्रममा, उत्तम खत्री र सुरज श्रेष्ठले मलाई चलचित्र ‘ठेगाना’ लेखन, निर्देशनको जिम्मा दिनुभयो । थुप्रै पुरस्कारसहित चलचित्र विकास बोर्डले समेत विशेष चलचित्र घोषणा गर्दै गर्यो ठेगानालाई । राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रदर्शन गरेको भयो । दुर्भाग्य, चलचित्रले राम्रो बजार पाउन सकेन, यथार्थमा बजारमा आउनै दिइएन भन्ने मेरो बुझाई छ ।
यही चलचित्रबाट प्रभावित भएर मलाई पुनः लेखक, निर्देशकको रुपमा काम गर्न प्रस्ताव आयो ‘वर्ल्ड कप ईन नेपाल’ ! यो पनि विशेष चलचित्र घोषित भयो । अन्तरास्ट्रिय बजारका बिभिन्न फेस्टिभलमा पनि गयो, आशा जाग्यो तर फेरी दुर्भाग्य ! स्वदेशमा चलेन !!
अचम्मको कुरा ! मेरो सोच अनुसार बनेका चलचित्रहरु चलिरहेका थिएनन् तर मेकर भने म सँग काम गर्न खोजिरहनु भएको थियो । मिथिला शर्माको सिफारिसमा मलाई खोज्दै आउनु भएका आलोक नेम्वाङ्गसँग लेखकको रुपमा गरेको “अझै पनि” र सुदर्शन थापासँग लेखककै रुपमा काम गरेको “चंखे शंखे पंखेे”को पनि त्यही नतिजा भयो ।
म अब मार्केटको लागि काम नगर्ने मनस्थितीमा पुगिसकेको थिएँ । तर, सुदर्शनजीले फेरी पनि ‘प्रेमगीत’ लेखिदिन प्रस्ताव गर्नुभयो । सन्तोष सेनजीसँग भेट्दा उहाँ जुझारु लाग्यो । प्रस्ताव त मैले स्वीकारेँ तर, यो भनिंन कि ‘कमर्सियल मार्केट’कोलािग ‘प्रेमगीत’ मेरो अन्तिम चलचित्र हुन सक्छ ।
यसको पट्कथा लेखन सकेर म रज्जु प्रधान र उत्तम खत्रीसङ्ग शिक्षा मुलक चलचित्र “भरोसा छ तिम्रै” निर्माणमा जुट्याैं । ‘प्रेमगीत’ हिट भएको सुन्दा म कुन अवस्थामा थिएँ, शब्दमा बयान गर्न सक्दिंन ।
हाम्रो संस्कार, संस्कृतिको प्रभाव, हाम्रो देशको सुन्दरता अनि प्रेमिल जोडिको कथामा बनेको चलचित्र ‘प्रेमगीत’को चर्चा आज पनि हुने गर्छ, सार्है खुसी लाग्छ । म, रज्जु प्रधान, उत्तम खत्री र सामाजिक अभियन्ता श्रद्देय दाजु किशोर सिंह शाही, हामी लघु चलचित्र “भरोसा छ तिम्रै” को प्रदर्शन गर्न आफै प्रोजेक्टर बोकेर देशभरीका बिभिन्न स्कुल कलेज पुगिरहेका थियौ ।
‘हामीले देश बिगार्यौ अब तिमीहरुले सपार्नुपर्छ’ भन्ने अभियान अनि आह्वान लिएर १ लाख बिध्यार्थीमाझ पुग्ने लक्ष्यसाथ हिँडेका हामीहरु लक्ष्यको नजिक थियाैं । त्यहीबेला सन्तोष सेनजिले एउटा माहोलमा फिल्म हेर्नुभयो र मलाई लेखक, निर्देशकको रुपमा काम गर्न अफर गर्नुभयो ‘प्रेमगीत२’ मा ।
मैले सधैं झैं दोहोर्याएँ कि म नेपाल र नेपालीकै कथामा काम गर्न चाहन्छु । उहाँहरुले थाईल्यान्ड र नेपालको कथामा काम गर्ने योजना बनाई रहनुभएको रहेछ । मैले बर्मा जोडेर त्यस्लाई मौलिक बनाउने प्रयास गरें। अन्तत: ‘प्रेमगीत २’लाई सफलता मिल्यो ।
युवाहरुले यति माया गरिदिनुभयो कि मसँग शब्दहरु कम हुन्छन बयान गर्न । खाली यति भन्छु- धन्यवाद छ तपाई युवा लगायत सबैलाई जस्ले ‘प्रेमगीत २’लाई यति माया गरिदिनुभयो । म आज पनि त्यही बाटोमा छु- भाषा नेपाली हुँदैमा त्यो नेपाली चलचित्र हुँदैन ।
अनि त्यही सोचमा छु ‘बिक्छ भन्दैमा जे पनि बेच्न हुदैन’ । साथीहरु, जिवन सिक्ने शिलशिला हो जस्तो लाग्छ, सिक्दै छु । सिक्दै गरेको मान्छेको कमीकमजोरी अबश्य पनि हुन्छन् तरपनि इमान्दारिताका साथ काम गर्ने प्रयास गर्दैछु र गर्ने छु ।
यहि सोच, चाहाना र उद्धेश्य बोकेका हामीहरु ‘१०० कडा १०’ लिएर आउँदैछाैं । तपाईंको साथ, सहयोग, हौसला र सुझावको अपेक्षा गर्दछौं । मेरा निजि बिचार पढिदिनु भएकोमा धेरै धेरै धन्यबाद ।
रामशरण पाठक
लेखक निर्देशक
‘१०० कडा १०’